भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई सीरीज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।
घटनास्थलबाट हालसम्म ४ जनाको शव बरामद भएको छ । शव नराम्रोसँग जलेको अवस्थामा भेटिएको छ । रावतलाई भने गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ । उनको स्थितिबारे थप जानकारी दिइएको छैन ।
इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।