‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तबहाल मन्दिर ल्याइएको छ ।
मच्छिन्द्रनाथलाई छ महिना पाटन छ महिना बुङ्मती राखिने चलनानुसार दिउँसो तबहाल ल्याइएको हो ।
मच्छिन्द्रनाथलाई पाटन ल्याउन आफूहरुले चार दिनअघिदेखि एक छाक चोखो खाना खानाका साथै आवश्यक नियम पालन गरेर बसिरहेको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताए ।
किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।
यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ ।