logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

औलो निवारणमा चुनौती, कञ्चनपुरमा चार महिनामा भेटिए १७ जना बिरामी


अंकुरण खबर
2.392K
Shares

सरकारले सन् २०२५ सम्म औलो (मलेरिया) निवारण गर्ने लक्ष्य लिए पनि औलो निवारणमा अझै चुनौती देखिएको छ ।

सन् २०२५ मा औलो निवारण गर्न सरकारले सन् २०२२ भित्र स्थानीय जातको औंलो शून्यमा झार्ने लक्ष्य लिएको थियो । तर कञ्चनपुरमा भने चार महिनाको अवधिमा १७ जना बिरामीमा मलेरिया रोग देखापरेका छन् ।

उनीहरूमध्ये दुई जनामा स्थानीय जातको मलेरिया देखिएको छ भने १५ जना भारतबाट आएका हुन् । कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका मलेरियाका बिरामी देखापरेका छन् । जसमध्ये भारतबाट आएका तीन जनामा प्लाज्मोडियम फाल्सिपेरम जातको मलेरिया देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका स्वास्थ्य औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए ।

उनले औलो निवारणका लागि अहिले लामखुट्टे समातेर ल्याबमा जाँच गर्ने काम भइरहेको बताए । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा कञ्चनपुरमा ४७ जनामा मलेरिया रोग देखिएको थियो । जसमध्ये १६ जनामा स्थानीय जातको मलेरिया देखिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा ११३ जना मलेरियाका बिरामी भेटिएका थिए । जसमध्ये २४ जनामा स्थानीय जातको मलेरिया देखिएको थियो भने ८४ जना बिरामी भारतबाट आएका थिए ।

भारतसँग खुला सीमानाका तथा कञ्चनपुरमा समेत मलेरिया सार्ने खालको लामखुट्टे प्रशस्त भेटिएकाले औंलो निवारणमा थप चुनौती देखिएको औलो निरीक्षक भट्टले बताए ।