काँग्रेस नेतृत्व चयनमा युवा प्रतिनिधि निर्णायक
नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ। काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा बिहान ८ बजेदेखि मतदान हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ।
सभापतिसहित १ सय ३४ पदका लागि हुने निर्वाचनमा ४ सय ९० जना प्रतिस्पर्धामा छन्।५ सय ४८ जनाले शनिबार विभिन्न पदमा उम्मेदवारी दिए पनि सभापति र सहमहामन्त्रीका एकएकसहित ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। प्रदेश नम्बर २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्। उनीहरू दुवै देउवानिकटका हुन् ।अब १ सय ३२ पदमा मात्र निर्वाचन हुनेछ। सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्दै आइतबार फिर्ता लिएका छन्।
अब सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा,शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ छन्। वर्तमान सभापतिसमेत रहेका देउवा सोमबार हुने निर्वाचनबाटै परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्।अन्य प्रत्याशी भने देउवालाई पहिलो चरणमा रोक्ने कसरतमा जुटेका छन्। पहिलो चरणमा देउवालाई रोक्दै दोस्रो चरणमा उनीविरुद्ध मोर्चाबन्दी गर्ने रणनीति अख्तियार गरेको निकट स्रोतहरूको दाबी छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा पुनः विद्यासुन्दर शाक्य उठ्ने संकेत
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन् । २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने बताएका हुन् ।
सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिने क्रममा मेयर शाक्यले भने– ‘साढे ४ वर्षे कार्यकालमा मैले गरेका कामहरू पूरा गर्न बाँकी रहेको महसुस गरी पार्टीले पुनः मेयरमा उठ भन्न सक्ला त्यसलाई नकार्ने कुरा हुँदैन । मैले एकल निर्णय गर्दिनँ, पार्टीले दिएको जिम्मेवारी पूरा गर्नेछु ।’ नेपाल कम्युनिस्ट पार्टी एमालेबाट मेयर बनेका शाक्य हाल एमालेको केन्द्रीय सदस्य हुन् ।
शाक्यले महानगरको विकासलाई सफल बनाउन प्रदेश र संघ सरकारबीच राम्रो समन्वयको आवश्यक्ता औंल्याए । विकास निर्माणमा समन्वय नभएको गुनासो गर्दै उनले भने– ‘उचित समन्वय नभएका कारण एउटै विकास योजनामा करोडौं रुपियाँ खर्च भएको छ, त्यसलाई व्यवस्थित गर्न संघीय सरकारको मुख्य भूमिका रहन्छ ।’ उनले महानगरपालिकाभित्र सबै काम सबैको सहमतिमै भइरहेको दाबी गर्दै पार्टीले यसको राम्रो मूल्यांकन गरिरहेको विश्वास व्यक्त गरे ।
उनले महानगरपालिकाले १९६ किलोमिटर सडक कालोपत्रे, १४ किलोमिटर सडक ढलान र १० किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिए । त्यस्तै, उनले आफ्नो कार्यकालमा ४८९ किलोमिटर सडकमा ढुंगा छाप्ने काम सम्पन्न भएको, २२६ किलोमिटर सडक मर्मत र १८ किलोमिटर ढल निर्माण गरिएको जानकारी पनि दिए । उनले आफ्नो कार्यकालमा वडा नं ३, ४, ९, १४, १८ र २६ मा गरी ६ वटा नयाँ वडा कार्यालयको निर्माण सम्पन्न भएको, १० वटा वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेको, आठवटा वडाहरूको स्तरोन्नति गरिएको पनि जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।