डडेल्धुरामा १७औं चरणको अनशनमा बसिरहेका डा.गोविन्द केसीलाई सरकारले जबर्जस्ती काठमाडौं लाने प्रयास असफल भएको छ ।
डा.केसीलाई काठमाडौं लैजानका लागि डडेल्धुरा पुगेको हेलिकाेप्टर रित्तै फर्किएको छ । डा.केसीले आफ्ना माग पूरा नहुन्जेलसम्म डडेल्धुरा नछोड्ने बताए पनि उनलाई प्रशासनले जबर्जस्ती लैजाने प्रयास गरेको थियो ।
केसीलाई जबर्जस्ती काठमाडौं लान थालेपछि स्थानीयले सरकारसँग सहमति भएर माग पूरा नभएसम्म काठमाडौं लैजान नदिने भन्दै विरोध जनाएका थिए ।
केसीका पक्षधरहरूले सडकमा टायर बालेर नाराबाजी गरेपछि डडेल्धुरा सदरमुकाम तनावग्रस्त बनेको थियो । चिकित्सा शिक्षा सुधारका माग गर्दै ८ दिनदेखि डा.केसी डडेलधुरामा अनशन बसिरहेका छन् ।