logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बाजुरामा पहिलो डोज लगाएका १२ हजार बढीले दोस्रो डोज लगाएनन्


अंकुरण खबर
650
Shares

बाजुरामा कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका १२ हजारभन्दा बढीले दोस्रो डोज खोप नलगाएको पाइएको छ ।

विभिन्न चरणमा गरी पहिलो मात्रा लगाएका १२ हजार ४६९ जनाले  दोस्रो मात्रा नलगाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा भेरोसेल, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सन गरी तीन प्रकारको खोप सञ्चालन भइरहेको थियो । बाजुराका नौ वटै स्थानीय तहबाट भेरोसेल र कोभिसिल्ड गरी ५५ हजार २६२ जनाले पहिलो मात्राको खोप लगाएका थिए ।

३८ हजार ५९० जनाले भेरोसेल र १६ हजार ६७२ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका स्वास्थ्यकर्मीले बताएका छन ।

ती मध्ये दोस्रो चरणमा २९ हजार २६१ जनाले भेरोसेल र १३ हजार ७३२ जनाले कोभिसिल्ड गरी ४२ हजार ९९३ जनाले मात्र खोपको दोस्रो मात्रा लगाएको जिल्ला स्वास्थ्य कार्यालयका खोप शाखाका अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए । १२ हजार २६९ जनाले दोस्रो मात्राको खोप नलगाएको उनले बताए ।

बाजुरामा १८ वर्ष माथिका ९९ हजार ६२ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा पाँच हजार ९७८ जनाले जोन्सन एन्ड जोन्सन र ४२ हजार ९९३ जनाले भेरोसेल र कोभिसिल्डको पूर्ण खोप लगाएका न्यौपानेले बताए ।

जिल्लाका उत्तरी क्षेत्रका चारवटा पालिकालाई पायक पर्ने गरी कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र, दक्षिणी क्षेत्रका पालिकाहरूलाई पायक पर्ने गरी टाँटे स्वास्थ्य चौकी र अन्य पालिकालाई पायक पर्ने गरी जनस्वास्थ्य प्रवर्द्धन एकाइबाट कोरोनाविरुद्धको खोप लगाइँदै आएको छ ।

विभिन्न चरणमा जिल्लाका नौ वटै पालिकाका स्वास्थ्य चौकीदेखि लिएर टोलटोलसम्म गरी ८४ वटा खोपकेन्द्रबाट खोप अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले बताए ।