चाहे विकास निर्माणका कुरा होस, चाहे अन्य जुन सुकै हिसावले सुदूरपश्चिमलाई सरकारलेनै दूर बनाएको गुनासो धेरै सुनिन्छ । त्यसो त भौगोलिक दुरीले संघीय राजधानीबाट टाडा र केही बिकट भए पनि सुदूरपश्चिम धार्मिक, सांस्कृतिक, ऐतिहासिक हिसावले सम्पन्न भू-भाव हो । यसको अलाबा पटक-पटक देशकै बागडोर समाल्ने, शीर्षस्त व्यक्ति उत्पादन गर्ने थलो पनि हो सुदूरपश्चिम।
गुणस्तरीय स्वास्थ्य सेवा सुदूरपश्चिमका सबै जनतामाझ पु¥याउने उदेश्यले सुदूरपश्चिमका ९ जिल्ला मध्ये ७ जिल्लालाई पायक पर्ने गरि डडेल्धुरा अस्पताल सञ्चालनमा ल्याइएको छ । संघीय सरकार माताहात रहने गरी सुदूरपश्चिमको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा विषेशज्ञ सेवासहितको छिटो, छरितो, सर्वशुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न भनी उक्त अस्पताल सञ्चालनमा ल्याइएको हो । अहिले अस्पतालबाट दैनिक सयौंले सेवा लिदैंआएका छन् । धेरै खर्च गरेर उपचारको लागि टाडा-टाडा जानुपर्ने बाध्यता केही हदसम्म भए पनि कम भएको छ । यद्यपी विशेषज्ञहरुको अभाव, आवश्यक प्रविधि, उपकरण लगाएतका कुरा आवश्यक्ता अनुसार नहुँदा अपेक्षाकृत सेवा सुविधा पाउँन नसकेको स्थानीयको गुनासो सुनिन्छ । यस अस्पतालले दिने सेवा सुविधा, समस्या, भावी योजना लगाएतका बिषयमा अंकुरण खबरका लागि अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझासंग गरिएको कुराकानी…
संघीय सरकार माताहातमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल डडेलधुरा अस्पतालको बिकास समिति अध्यक्ष हुनुहुन्छ, अस्पतालले के-कसरी स्वास्थ्य सेवा प्रबाह गरेको छ ?
पक्कै पनि सुदूरपश्चिम हरेर क्षेत्रमा अलि पछाडि परेको भन्दा नी पारिएको क्षेत्र हो । सुदूरपश्चिमका धेरै नागरिकले सामान्य स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएका घटना छन् । यही अबस्थाको अन्त्य गर्नको लागि संघीय सरकार अन्तर्गत सुदूरपश्चिमका ७ जिल्लालाई पाएक पर्ने गरि डडेलधुरामा विशेषज्ञ सेवा सहितको अस्पताल सञ्चालनमा ल्याएको हो ।
पहिले गैर सरकारी संस्था मार्फत सरकारी स्वामित्वमा आएको २०७० बाट उपक्षेत्रिय अस्पताल र मुलुक संघीय संरचनामा गए पछि संघीय सरकारको माताहातमा रहि २०७५ सालबाट विषेश विषेशज्ञ सेवासहितको अस्पतालको रुपमा यस अस्पतालबाट सेवा दिदै आइएको छ । अहिले दैनिक करिब ३ साढे ३ सयको हाराहारीमा बिरामीले सेवा लिरहेका छन् ।
तपाई अस्पताल बिकास समितिको अध्यक्ष भएर आएको डेड वर्ष भयो , तपाई आएपछि अस्पतालमा के कस्ता काम गर्नु भयो ?
म आएको डेड वर्ष भयो । जति बेला म नियुक्त भएर आए त्यस बेला कोरोना संक्रमण तिब्र रुपमा फैलिएको थियो । स्वास्थ्य क्षेत्रमा निकै जटिलता थियो । स्वास्थ्य क्षेत्रमा यो एक किसिमको संक्रमणकाल पनि हो । कोरोना संक्रमण हुँदा अक्सिजन नपाएर कैयौले ज्यान गुमाइरहेका बेला मैलै स्थानीय तह, प्रदेश र संघीय सरकार, संभावित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाता, सरोकारवाला सबै पक्षसंग छलफल गरेर तत्काल अक्सिजन,पिसिआर मिसिन, लगाएतका आवश्यक पर्ने सामग्री ल्याए । जसले गर्दा कोरोना संक्रमितको उपचार सहज भयो । स्थानीय मात्र नभए अन्य क्षेत्रबाट समेत हाम्रो अस्पतालमा आएर उपचार गर्नुभयो ।
अस्पतालमा एक्स्रे, इको, इन्डोस्कोपी,सिटिस्क्यान, सल्यक्रिया सम्बन्धि आवश्यक पर्ने आधुनिक उपकरणहरु हामीले जडान गरेका छौं । यसलाई समय सापेक्ष सुधार गर्दै लैजाने हाम्रो लक्ष्य हो । अस्पतालको चौतर्फि बिकासमा म दिलो ज्यान दिएर लागेको छुँ । तर विविध समस्याका कारण लक्ष्यअनुरुप परिवर्तन गर्न नसकेको पक्कै हो । यद्यपी सिमित श्रोत र साधानकैबीच अधिकतम सेवा सुविधा दिन म लगाएत हामी अस्पताल परिवार सबै लागेकाले यसको अनुभूत सेवाग्राही र सरोकारवाला सबैले गर्नुभएको छ ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि अध्यक्ष लगाएत अन्य पदमा राजनीतिक नियुक्ति हुन्छ । स्वास्थ्य क्षेत्र नबुझेका मानिसलाई नियुक्त गर्दा समस्या बढ्यो भन्ने आरोप छ नी ?
हो, यो विषय धेरै ठाँउमा उठ्ने गरेको छ । स्वास्थ्य क्षेत्र पक्कै पनि संवेदनशील क्षेत्र हो । संभव भएसम्म यही क्षेत्रमा विज्ञता राख्ने व्यक्ति हुनु राम्रो कुरा हो । तर राजनीतिक नियुक्ति भन्दैमा स्वास्थ क्षेत्रको केही ज्ञाननै नभएको मानिस नियुक्त गर्ने भन्ने हैन् । त्यस क्षेत्रको आवश्यक्ता, स्रोत साधनको पहिचान गर्ने र भित्राउने क्षमता भएको व्यक्ति आवश्यक हुन्छ । प्रवाभकारी सेवा दिलाउने कुरामा कुनै इगो नराखी समान व्यवहार देखाउँदै इमान्दारीताका साथ लागे यस्ता आरोपहरु हराउँदै जान्छन् ।
अस्पताल सञ्चालनका मूख्य चुनौती के हुन् ?
अस्पताल सञ्चालनमा समस्याका चाङ छन् । तर यस्ता समस्यालाई सचेतताका साथ समधान गर्दै जाँनुपर्छ । तर कतिपय समस्या आफ्नो माताहात भन्दा बाहिरका हुन्छन् । त्यसमा कुनै एक व्यक्ति या संस्था भन्दा पनि सबै पक्षको महत्वपूर्ण साथ सहयोगको आवश्क्ता पर्दछ । हाम्रो अस्पतालको मूख्य समस्या भनेकै दरबन्धी अनुसार विशेषज्ञ चिकित्सकको अभाव हो । यो समस्या अधिकाशं दुर्गमका अस्पतालको समस्या हो ।
सरकारले विशेषज्ञ अस्पताल भन्ने अनि विशेषज्ञ चिकित्सक पठाउन नसक्दा प्रभावकारी उपचार सेवामा समस्या धेरै छ । म अध्यक्ष भए आए पछि मन्त्रालय र अन्य सरोकारवाला पक्षसंग अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक उपलब्ध गरउन पटक-पटक भनेको छु । विशेषज्ञ अस्पताल भन्ने अनि चिकित्सकनै नपठाए पछि कसरी दिनु विशेषज्ञ सेवा । यो कुरामा चिकित्सकका न्यूनत आवश्यक्ता पुरा गरेर हुन्छ की या अन्य सेवा सुविधा थप गरेर हुन्छ विशेषज्ञ चिकित्सक लाने र टिकाइ राख्ने कुरामा सबैले ध्यान दिनु पर्ने देखिन्छ । सरकारले दिने स्वास्थ बीमा, निर्धारित रोगका लागि दिएको सौलिएत लगाएतका कुरामा पनि जनतामा धेरै अस्पष्टता छ । जसका कारण अस्पताल र बिरामीबीच कहिले काहीँ विवाध हुने गरेको छ । यस्ता कुरामा आम जनतालाई स्पष्ट पर्नुपनि चुनौतिको कुरा हो । त्यस्तै दुर्गमका जनतालाई सहज रुपमा अस्पतालसम्म आउँने वातवरण सृजन गर्ने, आवश्यक उपकरणहरु निर्माण गर्दै जाने, हाम्रा भन्दा योग्य र राम्रालाई अबसर दिदै जाने हो भने समस्यालाइृ सहजै पार गर्न सकिन्छ ।
अस्पतालको भावी लक्ष्य के छ ?
हाम्रो प्रमुख लक्ष्य भनेकै सुदूरपश्चिमका जनतालाई गुणस्तरीय र प्रभावकारी सेवा दिन कुनै कसर बाँकी नराख्ने हो । पहिले उप-क्षेत्रीय अस्पताल हुँदा १०० थियो । अहिले अहिले २५० शैयामा को छ । भाबी दिनमा यो अस्पताललाई ५०० शैयाको बनाउने सरकारको नीति अनुसारनै हामी लागि परेका छौं । साथै अस्पतालको चौतर्फी विकास गरी समय सापेक्ष सेवा सुविधा दिन सरोकारवालासंग सहकार्य गर्दै दुर्गममा भए पनि देशकै नमुना अस्पताल बनाउने लक्ष्य छ । सोही अनुरुप काम गरिरहेका छौं ।