logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते


अंकुरण खबर
637
Shares

जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको दुघटनामा दुई जनाको ज्यान गएको छ ।

सर्लाहीको नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । बाटो काट्दै गरेकी सोही स्थान निवासी अन्दाजी ५५ बर्षकी सैफुल खातुनलाई साइकलले ठक्कर दिएको थियो ।

साइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी खातुनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

प्रहरीले ठक्कर दिने साइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै महिलाको शव परीक्षणको लागि जनकपुरस्थित अस्पतालमै राखिएको परिवारजनले जनाएका छन् ।

यस्तै सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ ।

पूर्वपश्चिम लोकमार्ग स्थित ईश्वरपुर नगरपालिका–१२, बाँके जंगलमा भएको सवारी दुर्घटनामा लालबन्दी नगरपालिका–७, बस्ने ५६ बर्षका भीम गुरुङको ज्यान गएको हो ।

सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । उन्को अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गएराति अबेर नम्बर नखुलेको सानो सवारीले उनीहरु सवार ना ३४ प ७० २१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घटनालगतै मोटरसाईकल चालक लालबन्दी नगरपालिका–३, निवासी ४२ बर्षका जितन चौधरीलाई लालबन्दी स्थित मोडल अस्पताल पुर्‍याइएको थियो । उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका गुरुङलाई भने जिल्ला अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

घटनामा संलग्न ठक्कर दिने सवारी फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । मृतक गुरुङकोे शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।