logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुपर दोर्दी ‘ख’ को प्रसारण लाइनको वातावरणीय परीक्षण गरिने


अंकुरण खबर
1.105K
Shares

लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाट सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाले विद्युत प्रसारण लाइनको परिमार्जित वातावरणीय परीक्षण गर्ने भएको छ ।

असारमा गएको बाढीका कारण प्रसारण लाइनमा क्षति पुगे पछि पुन:र्निर्माणका लागि परिमार्जित वातावरणीय परीक्षण गर्नुपरेको आयोजनाले जनाएको छ ।

आगामी असारसम्म निर्माण कार्य सक्ने लक्ष्य लिएको आयोजनाले विद्युत गृह देखि नेपाल विद्युत प्राधिकरणको कीर्तिपुरस्थित सबस्टेसनसम्म १३२ केभी डबल सर्किट विद्युत प्रसारण लाइन निर्माण सुरु गरेको हो ।

आयोजनाले करिब २० करोड रुपैयाँ लगानीमा पाँच दशमलव ६ किलोमिटर प्रसारणलाइन निर्माण सुरु गरेको जनाएको छ । प्रसारण लाइनका लागि आवश्यक जग्गा व्यवस्थापनको काम सम्पन्न भइसकेको प्रवद्र्धक सुपर दोर्दी इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष इजन बरालले बताए ।

प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रभाव परीक्षण गरी २०७५ असोजमा स्वीकृति समेत पाई निर्माणकार्य अघि बढाएको थियो ।  निर्माणका क्रममा आठवटा टावर निर्माण सम्पन्न भए पनि गत असारमा गएको बाढीले चारवटा टावरमा पूर्ण क्षति पुगेको थियो ।

निर्माण सम्पन्न टावरमा क्षति पु गेपछि पुनः वातावरणीय परीक्षण गर्नु परेको आयोजनाले जनाएको छ ।

०७७ असार मसान्त भित्रै व्यावसायिक विद्युत उत्पादन थाल्ने लक्ष्य लिइएको आयोजनाले गत वर्षमा दोर्दी खोलामा आएको बाढी र कोभिड – १९ को प्रभावका कारण निर्माणमा ढिलाइ भएको हो ।

हाल निर्माण चरणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको र अब अन्तिम चरणका काममात्रै बाँकी रहेको आयोजनाले जनाएको छ ।

आयोजनाले राष्ट्रिय प्रसारणलाइन निर्माण गरेको दोर्दी गाउँपालिका ६ र ७ अन्तर्गत क्षेत्रमा क्षति पुगे पछि पुनर्निर्माणका लागि पुनः वातावरणीय परीक्षण गर्नु परेको जनाएको छ ।

यस अघि वातावरणीय प्रभाव परीक्षण गरी प्रसारणलाइन निर्माण समेत सुरु भइसकेको अवस्थामा गत असारमा आएको बाढीका कारण जमिन सहित चारवटा विद्युत टावरमा क्षति पुगे पछि नयाँ जग्गा र त्यसको बारेमा पुनः वातावरणीय प्रभाव परीक्षण गर्नु परेको आयोजनाले जनाएको छ ।

आयोजनाले पुनः वातावरणीय परीक्षणका लागि प्रतिवेदन तयार गर्ने क्रममा त्यस क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक साँस्कृतिक र आर्थिक प्रणालीलगायतमा पर्ने प्रभावका विषयमा लिखित सुझाव माग गरेको छ ।

प्रभावित क्षेत्र अन्तर्गत विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला सँस्था तथा व्यक्तिसँग लिखित राय सुझाव माग गरेको आयोजना प्रवद्र्धक सुपर दोर्दी इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष बरालले बताए ।