logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लाको खलंगामा बर्षौदेखि थुप्रिएको फोहोर एक सातामै यसरी उठ्यो


अंकुरण खबर
663
Shares

जुम्लाको सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेको बेलामा चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले एक साता मै सदरमुकाम बजार खलंगाको मुहार फेरिदिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएलगत्तै बुढ्थापाले बजारको मुहार फेरिदिएका हुन् ।

जिम्मेवारी पाएसँगै उनले अस्थायी डम्पिङ साइटको समेत व्यवस्थापन गरेका छन् । यति मात्रै होइन उनी हरेक बिहान नगरका कर्मचारीसँगै फोहोर उठाउन समेत निस्कन्छन् । यसले गर्दा बर्सौदेखि दुर्गन्धित बनेको नगरले फोहोरबाट मुक्ति पाउन थालेको छ । उनी भन्छन्, हाम्रो पहिलो प्रथामिकता बजार सफा बनाउने हो ।

बजार सफा भए पछि खलंगामा रहेको जुगाड खोलाको फोहोर पनि हटाउने बुढ्थापाले बताए । अहिले मुख छोपेर हिड्ने अवस्था छ। हामी त्यसलाई पनि बेलैमा सरसफाई गर्नतर्फ लाग्ने छौं, उनले भने, ‘हामी पहिलो चरणमा फोहोर उठाउँछौँ, त्यसअनुसार नगरले व्यापारीहरूबाट शुल्क पनि लिन्छौँ ।

त्यसपछि हरेक घर तथा पसलबाट निस्कने फोहोर कुहिने र नकुहिने छुट्टा छुट्टै राख्न लागउँछौ । अटेर गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याउनु पर्ने पनि हुनसक्छ ।

बुढ्थापाले बढ्दै गएको सहरीकरणले फोहोरमैला व्यवस्थापन गर्न असहज हुने भएकाले दीर्घकालिन योजना बनाएरअघि बढ्न थालेको बताए । उनले  भने, ‘प्लास्टिकको अत्याधिक प्रयोगसँगै पर्चा पम्प्लेटले सार्वजनिक स्थानमा फोहोर बढेको छ ।

जुम्ला बजार सरसफाईका लागि सबैले आ- आफ्नो क्षेत्रबाट पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, सदरमुकामभित्रका घरबाट मासिक एक सय, व्यवसायीबाट मासिक तीन सय र ठूला उद्योग तथा होटलबाट मासिक एक हजार रुपैयाँ फोहोर शुल्क उठाउन थालिएको छ ।

चन्दननाथ नगरपालिकाको राजश्व परामर्श समितिको बैठक तथा नगरसभाको निर्णय अनुसार व्यवसायीबाट शुल्क उठान सुरु गरेको छ । चन्दननाथ नगरपालिका जुम्लाका फोहोर मैला तथा विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बजारको फोहोर नियमित उठाउने गरेको बताए ।

फोहोर व्यवस्थापनलाई सहज बनाउन व्यवसायीबाट शुल्क उठाइएको हो । उनले भने, छलफल पछि सहभागीले नगरपालिकालाई सफा, सुन्दर र स्वस्थ बनाउन सबैले आ(आफ्नो क्षेत्रबाट पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।