काठमाडौं – साताको अन्तिम कारोबार आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से ०.७९ अंकले बढेर ११३५.९५ बिन्दुमा पुगेको छ ।
कुल १६३ वटा कम्पनीको ८ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर २२ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज कारोबार रकम अघिल्लो दिनभन्दा कम हो ।
आज कारोबारमा आएका समूहमध्ये होटल, विकास बैंक, अन्य र लघुवित्त समूहबाहेक बाँकी सबै समूह बढेका छन् । एनएमबी बैंकको शेयर कारोबार ४ करोड २९ लाख रुपियाँभन्दा बढी भएको छ । ३५ प्रतिशत लाभांश घोषणा गरेपछि यस बैंकको शेयरप्रति लगानीकर्ता आकर्षित भएका छन् ।
अघिल्लो दिनजस्तै बिहीबार पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज करिब १० प्रतिशतले बढेको छ ।
त्यस्तै आज ग्लोबल आइएमई स्किम-१ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यसको शेयर मूल्य साढे पाँच प्रतिशतले घटेको छ ।