काठमाडौ – प्रमुख प्रतिपक्षी काँग्रेस सभापति शेरबहादुर देउवाले भारतले नेपाली सीमा मिच्दा पनि सरकार चुपचाप बसेको भन्दै आपत्ति जनाएका छन् ।
प्रेस युनियनले शनिबार महेन्द्रनगरको गरेको पत्रकार भेटघाटमा सभापति देउवाले राष्ट्रवादको नारा लगाउने सरकार भएका बेला नेपाली भूमि अतिक्रमण भए पनि विवाद मिलाउन पहल गर्न नसकेको आरोप लगाएका हुन् ।
हालै भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको उनले स्पष्ट गरे ।
महाकाली सन्धिअनुसार पनि कालापानी हाम्रो हो, देउवाले भने, ‘सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।’ देउवाले महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको बताए ।
उनले सन्धि कार्यान्वयनका लागि भारतसँग कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गरे ।