logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

माघे संक्रान्तिलाई जंगलमा वन तरुल खोज्नेको भिड


अंकुरण खबर
1.326K
Shares

माघे संक्रान्तिका लागि खोटाङका स्थानीयवासी जंगलमा वन तरुल खोज्न व्यस्त छन् ।

वन तरुल निकाल्न कुटो, कोदालो र झम्पालसहित स्थानीयको भिड नजिकका जंगलमा बढेको छ ।

माघे संक्रान्तिमा घर तरुल, सखरखण्ड, इस्कुसको जरा, घिउ, चाकुलगायतका परिकार खाने प्रचलन भए पनि स्थानीयले वन तरुललाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ ।

माघे संक्रान्तिका दिन ‘एक टुक्रा भए पनि वन तरुल खानु पर्छ’ भन्ने मान्यता छ । कतिपयले आफैलाई र कतिपयले बिक्रीका लागि तरुल खोज्ने गरेका छन् ।

कुनै – कुनै घना जंगलमा पाइने वन तरुल निकाल्न निकै मिहिनेत गर्नु पर्ने हुन्छ । वन तरुलको फल जमिनको सतहबाट दुई र तीन मिटर मुनि भेटिने भएकाले गहिरो खाडल खन्नु पर्ने हुन्छ ।

दुई – तीन दिन अघि देखि माघे संक्रान्तिको दिन सम्मै वन तरुल खन्ने गरेको र त्यसका लागि हुलका हुल स्थानीय जंगलमा पुग्ने गरेका हलेसी तुवाचुङ नगरपालिका – ३ च्यास्मीटारका रहरमान राईले बताए ।

निकै मिहिनेतका साथ निकालिएको वन तरुल बिक्रीका लागि बजारमा समेत ल्याउने गरिएको छ । कतिपयले माघे संक्रान्ति भन्दा हप्ता दिन अघि देखि नै कन्दमुल खरिद गरेर राख्ने गरेका छन् । कन्दमुल मध्ये वन तरुलको मूल्य महँगो पर्छ ।