logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै


अंकुरण खबर
715
Shares

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा छ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते आठ जनालाई गएराति नै भरतपुर रिफर गरिएको थियो । घाइतेको अवस्था सामान्य रहेको तनहुँ प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीकी २१ वर्षीया जमुना थापा, सोही वडाको हुस्लाङकोटकी ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनकाअनुसार बन्दीपुर–६ भाक्सेकी साते महिने बालिका विविसा थापा, १६ बर्षीया सनिसा थापा १८ बर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपिन थापा घाइते भएका छन् ।

घुमाउनेबाट धरमपानी आउँदै गरेको ग १ ज ६५५५ नम्बरको यात्रुवहा जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो । शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको हो । दुर्घटनाको कारणबारे नखुलेको प्रहरीले जनाएको छ ।

चार जनाको घटना स्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो । सवारी चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । सवारी धनी नै चालक रहेको बन्दीपुर–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।