नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका हुन् । उनले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दावी समेत गरे ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि बताए ।
अध्यक्ष नेपालले भने, ‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं । चुनाव यदि जेष्ठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने सामना गर्न तयार छौं । असोजमा गर्ने हो भने सामना गर्न तयार छौं । स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । केन्द्रिय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । चुनावबाट हामी आत्तिएका छैनौं । जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौं । यस अर्थमा चुनावको कुराबाट बरु अरु आत्तिएका होलान । गठबन्धनको एकता तोडन खोजिरहेका होलान । भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान । अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन । नमिलेपछि गठबन्धन टुट्छ । टुटिसकेपछि त्यसको फाईदा उठाउला भनेर कोही त्यो मौकाको ताकमा पनि कोही होलान । तर आज बिहान भएको बैठकमा पनि नेपाली कांग्रेसका सबै नेताहरुले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता व्यक्त गर्नु भएको छ । स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसावको प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।’
अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पनि राखे । उनले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गते पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावी समेत गरे।
उनले भने, ‘स्थानीय तहको निर्वाचनबारे संविधानमा लेखिएको कुरालाई हामीले सबभन्दा पहिला ध्यानमा राख्नु पर्दछ । संविधानको धारा २२५ मा प्रष्ट लेखेको छ–कि गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भईसकेको समयदेखि ६ महिना भित्र निर्वाचन सम्पन्न गर्नु पर्नेछ । अर्थात सम्पन्न भएको पाँच वर्ष पूरा भएको समयदेखि ६ महिना भित्र अर्थात गाउँसभा र नगरसभाको चुनाव कहिले सम्पन्न भयो रु भनेर हामीले त्यो समयलाई हेर्नु पर्दछ ।’
अध्यक्ष नेपालले कांग्रेस नेताहरु गठबन्धनमा आवद्ध दलहरुको सहमतीमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको बताए ।