अबैध तरिकाले भित्र्याएको सुन सहित प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ ।
पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन सहित सोही महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २९६९ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा रहेका सुनारले लुकाई ल्याएको अबस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
एक किलो सुनको मूल्य करिब ८० लाख रुपैयाँ पर्न आउँछ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।