काठमाडौं – नेपाल प्रहरीले १२ लाख मूल्य बराबरको ह्यान्डीक्राफ्ट (काँस तथा पित्तल)का सामाग्री चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौं महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई गएराति पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले काठमाडौं महानगरपालिका–१५ चमतीमा काभ्रेपलाञ्चोका २९ वर्षीय रमेश रसाइलीले सञ्चालन गरेको कारखानाबाट सामान चोरी गरेको अनुसन्धानका क्रममा खुलेपछि चारैजनालाई पक्राउ गरिएको जानकारी दिए ।
‘चोरी गरिएका सामग्री वनस्थलीस्थित रोशन लामाको कोठामा लुकाएर राखेको अवस्थामा वृत्तले काँसको जस्तो देखिने घण्टी ४ सय ४५ थान, काँस र पित्तलजस्तो देखिने नौसिङ्गे दोर्जे १ सय ५० थान, चारसिंगे एन्डी १ सय १५ थान र घण्टीमा जोड्न प्रयोग गरिने विभिन्न पाटपुर्जा ६ सय ५ थान बरामद गरेको छ ।