logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गृहमन्त्रीले सिडिओहरूलाई सोधे– कोभिडदेखि शान्ति सुरक्षासम्मको स्थिति के छ ?


अंकुरण खबर
1.43K
Shares

गृहमन्त्री बालकृष्ण खाँणले १३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र एकजना सहायक प्रमुख जिल्ला अधिकारीसँग कोभिड–१९, शान्ति सुरक्षा, कर्मचारीको स्थिति लगायतबारे जानकारी लिएका छन् ।

टेलिफोन कुराकानी गरेर खाणले बिहीबार बिहान प्रजिअहरू इन्द्रदेव यादव (सुनसरी) काशीराज दाहाल (मोरङ) छविलाल रिजाल (झापा), कृष्णबहादुर कटुवाल (बारा) धर्मेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही), चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया) र हीरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) र नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग जानकारी लिएका हुन् ।

सहायक प्रजिअ बरालले गृहमन्त्री खाणले गरेको फोन कुराकानीले काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न प्रेरणा हुने बताए ।

‘गृहमन्त्रीज्यूले जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभयो’, सहायक प्रजिअ बरालले भने, ‘मन्त्रीज्यूले टेलिफोन गरेर यसरी जानकारी लिँदा काम गर्दा सर्तकता अपनाउन र राम्रो काम गर्न प्रेरणा हुन्छ ।’

कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सर्तक रहन सिकाएको बताए ।

‘सामान्यतया आन्तरिक विषयबस्तुमा महत्वपूर्ण घटना नभई अन्य गृहमन्त्रीज्यूहरूले टेलिफोन गरेको जानकारी थिएन । अहिले मन्त्रीज्यूले टेलिफोन गर्दा काम गर्न जोस, जागर र सर्तक रहन सिकाएको छ ।’

गृहमन्त्री खाणले प्रजिअहरूसँग जिल्लामा संक्रमणको स्थिति, नियन्त्रणका लागि चालिएको कदमसँगै शान्ति सुरक्षाबारे जानकारी लिँदै आएका छन् ।