logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको छ : अस्पतालबाटै प्रधानमन्त्रीको ट्विट


अंकुरण खबर
676
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको छ ।

एपेण्डिसाइटिसको शल्यक्रियापश्चात् मनोमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको आइसीयूमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले बिहीबार बिहान उठेर बसेको र केहीबेर सामाजिक सञ्जाल चलाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले बिहान आफ्नो स्वास्थ्यबारे बाहिर भइरहेका चर्चाबारे चासो समेत राखेका थिए । उनले भने, “उहाँले केहीबेर ट्विटर चलाउनुभयो । आफ्नो स्वास्थ्यबारे आइरहेका समाचार हेर्नुभयो । शुभकामना सन्देशहरू पनि पढ्नुभयो र अन्तिममा धन्यवाद दिनुभयो,”।

प्रधानमन्त्री ओलीको ट्विट:
“बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,” ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका ओलीको पछिल्लो समय ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा डायालाइसिस हुँदै आएको थियो । अहिले मनोमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमै डाइलाइसिस गर्न थालिएको बताएको छ । मङ्गलबार र बुधबार गरी दुईपटक डायालाइसिस गरिएको सचिवालयले जानकारी दिएको छ ।