logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाकालीमा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्न विप्लवको ध्यानाकर्षण


अंकुरण खबर
2.34K
Shares

दार्चुला सदरमुकाम खलंगाको पारी पट्टी महाकाली नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण रोक्न नेपाल कम्युनिस्ट पार्टी विप्लवले दार्चुला प्रशासनको ध्यानाकर्षण गराएको छ ।

पार्टीका जिल्ला सचिव भरत मल्लले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको काम रोक्न अनुरोध गरेका छन् ।

पुरानो तटबन्ध संरचना भन्दा लगभग ८ मिटर वर भारतले नयाँ तटबन्ध बनाइरहेको छ । सीमा सम्बन्धी दुई देश बिचको सन्धि र सम्झौता तोड्दै भारतले सीमा नामा हैकम जमाउँदै अमानवीय घटना घटाइरहेको तथा अन्तर्राष्ट्रिय कानुनको समेत खिल्ली उडाइरहेको नेकपा विप्लवको आरोप छ ।

सचिव मल्लले भने, ‘भारतीय क्रियाकलापले हाम्रो मातृभूमि आक्रान्त बनेको छ, प्रत्येक राष्ट्रभक्त नेपालीलाई पिरोलीरहेको छ । भारतले हाम्रो सिमानामा हस्तक्षेप गरिरहेको टुलुटुलु हेरिरहने कि केही संघर्ष गर्ने ।’

राष्ट्रिय, सार्वभौमिकता तथा सीमानाको समस्या जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पुगोस् भनेर ध्यानाकर्षण पत्र बुझाएको उनले बताए ।

दार्चुला सदरमुकामको पारि पट्टी भारतले निर्माण गरिरहेको तटबन्धको विषय गृह मन्त्रालयलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । यस विषयमा भारतको पिथौरागढ जिल्ला अधिकारीला ध्यानाकर्षण गराउँदै पत्राचार गरिएको भए पनि जवाफ नआएको उनले बताएका छन् ।

केही हप्ताअघि भएको नेपाल भारत भर्चुअल सीमा बैठकमा महाकालीमा भारतले निर्माण गरिरहेको तटबन्धको विषयमा कुरा उठाएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध नबनाउने र विधान सभा चुनावपछि निर्माणको क्षेत्रको अवलोकन गरी नेपाललाई जवाफ दिने पिथौरागढ जिल्ला अधिकारीले सीमा बैठकमा भनेको उनले जानकारी दिए ।

भारतले धार्चुलामा निर्माण गरेको एकतर्फी तटबन्धका कारण २०७० सालमा आएको बाढीले दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।