logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्न तत्काल ह्विप जारी नगर्ने


अंकुरण खबर
1.443K
Shares

एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन ।

एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीको विपक्षमा उभिने निर्णय भए पनि सांसदहरूलाई विपक्षमा मतदान गर्न अहिले नै ह्विप जारी नगर्ने बताएका हुन् । ‘हामी अहिले नै ह्विप जारी गर्ने पक्षमा छैनौ, आवश्यक परे संसद् बैठक बस्नुअघि निर्णय लिन्छौं,’ उनले भने ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगनन्नाथ खतिवडाले सरकारले संसदमा टेबुल गरेको एमसीसीलाई सांसदहरूले छलफलपछि निष्कर्ष निकालेर निर्णय लिन पाउने बताए ।

संसदमा व्यापक छलफल भएपछि कुन प्रक्रियाबाट विपक्षमा उभिने त्यहीबेला टुंगो लाग्ने उनको भनाइ छ । ‘पक्ष वा विपक्षमा उभिँदा पनि संसदको सर्वोच्चता र मर्यादालाई ध्यान दिएर एमसीसीमाथिको छलफलमा सहभागी भएर प्रक्रियागत ढंगले अघि बढ्छौं,’ खतिवडाले भने ।

२०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ह्विप उल्लंघन गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई एमालेले कारबाही गरेको थियो । ओलीसँग रुष्ट भएका र कारबाहीमा परेका सांसदले नेता नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् ।

एमसीसीलाई लिएर अहिले सो पार्टीमा स्पष्ट दुई धार देखिएको छ । अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाल पक्ष विपक्षमा उभिएका छन् । त्यसैले एमसीसी संसदमा टेबुल भए पनि पास हुन्छ कि हुन्न भन्ने विषयप्रति चासो देखिएको हो ।