काठमाडौं – प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । ४३ वडामध्ये ३९ वटाको मतपरिणाम सार्वजनिक भएको हो ।
हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन् ।
पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे, भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई, खोटाङ साकेला गापा–३ मा शिवकला राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाडौँ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी भएका छन् ।