logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा एकै परिवारका पाँच जनाद्वारा सामूहिक आत्महत्याको प्रयास, एकको मृत्यु चार जना अचेत


अंकुरण खबर
468
Shares

राजधानी काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेका छन् ।

काठमाडौंको रामकोट नगरपालिका–६ स्थित एक घरमा सामूहिक विष सेवन गर्नेमध्ये एक जनाको मृत्यु भइसकेको छ भने चार जना अचेत अवस्थामा रहेका छन् ।

अचेत अवस्थामा रहेका चार जनाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताए ।

‘गएरातिको घटना हो । विष सेवन गर्ने पाँच जनामध्ये एक जनाको मृत्यु भइसकेको छ । चार जनाको मनमोहन अस्पतालमा उपचार चलिरहेको छ । सबै अचेत अवस्था हुनुहुन्छ र स्वास्थ्य अवस्था गम्भिर छ,’ प्रवक्ता राठौरले भने ।

अचेत अवस्थामा रहेकाहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले जनाए । उपचार हुनेहरुमा इन्दिरामाया प्रधान, भिम प्रधान, मन्दिरा डंगोल र सुप्रेणा प्रधान रहेका छन् ।

काठमाडौंको डल्लुमा स्थायी ठेगाना भएका उनीहरु नागार्जुन नगरपालिका–६ रामकोटमा एक जनाको घरमा डेरागरी बस्दै आएका थिए । उनीहरुको कोठाबाट विषको बट्टा र सुसाइट नोट समेत फेला परेको प्रहरीले जनाएको छ ।

सुसाइट नोटमा आर्थिक अवस्था विग्रेका कारण आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ ।

‘घटनाका विषयमा अनुसन्धान चलिरहेको छ । अहिले यही हो भन्न सक्ने अवस्था छैन,’ प्रवक्ता राठौरले भने ।