स्थानीय चुनावमा तालमेलका विषयमा निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११:३० बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापति र केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन् । शुक्रबार २७ र आइतबार ५४ केन्द्रीय सदस्यले बोलेका छन् ।
आज बाँकी रहेका केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । आज केन्द्रीय सदस्यले बोल्ने क्रम सकिने र स्थानीय चुनावका विषयमा निर्णय हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
अहिलेसम्म बोल्ने अधिकांश केन्द्रीय सदस्यले तालमेल गरेरै चुनावमा जानुपर्ने धारणा राखेका छन् । उनीहरुले आवश्यकताको आधारमा गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
केही केन्द्रीय सदस्यले कांग्रेस एक्लैले चुनावमा जानुपर्ने पनि मत राखेका छन् । तर, धेरै जसो केन्द्रीय सदस्यले गठबन्धन गरेर स्थानीय चुनाव लड्नुपर्ने धारणा राखेको प्रवक्ता डा. महतले बताए ।