काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सतर्फ ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।
दशरथ रंगशालामा भएको खेलमा गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । योसँगै नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ । नेपालले एथ्लेटिक्समा जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् ।
यस स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्य जिते । उनले सो दुरी १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरे । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत जिते ।
महिलातर्फको ५ हजार मिटर दौडमा श्रीलंकाकी उदा कुबुरालांगेले स्वर्ण, भारतकी पारुल चौधरीले रजत र भारतकै प्रिती लाम्बाले कास्य जितेकी छन् ।