logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रवणदृष्टि विहिन अपाङ्गताका हक हितको लागि राज्य स्तरबाट ध्यान जावस्


अंकुरण खबर
3.263K
Shares

श्रवणदृष्टि विहिन अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारको लागि बहिरा दृष्टिविहिन अभिभावक समाजले आवाज उठाउदै आएको छ ।

काठमाडौंस्थित डिल्ली बजारमा आयोजना गरिएको श्रवणदृष्टि विहिन अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुको कार्यशालामा बोल्दै बहिरा दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पानुर शेर्पाले श्रवणदृष्टि विहिन अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सरकार वा सरोकारवाला निकायसम्म पुर्याउँनको लागि सक्दो पहल गरेको बताए ।

श्रवणदृष्टि विहिन अपाङ्गता भएका व्यक्तिहरु पछाडी परेको र उनीहरुलाई हेरचाह गर्न निकै कठिन भएको गुनासो पोख्दै शेर्पाले भने, “यस्ता व्यक्तिहरुको हक हित र अधिकारका लागि राज्य स्तरबाट अर्थपूर्ण कार्यक्रम ल्याउन आवश्यक छ । जसले गर्दा हामी जस्ता श्रवणदृष्टि विहिन अपाङ्गताका अभिभावकहरुलाई केहि राहत मिलोस् ।”

श्रवणदृष्टि विहिन अपाङ्गताहरुको आवाज बनेर राज्य स्तरमा पुग्न सकियो भने अपाङ्गता भएका व्यक्तिहरुलाई केहि राहत मिल्ने उनको भनाई थियो । यस्ता व्यक्तिहरुको हक र अधिकार सुनिश्चित गर्नका लागि  सरकारले आउदो शैक्षिक सत्रमा छात्रावृत्तिको व्यवस्था गरिदिन समेत उनले आग्रह गरेका छन् ।

यस्तै, राष्ट्रिय बहिरा महासंघ नेपालका परियोजना संयोजक शंकर चैसिरले श्रवणदृष्टि विहिन अपाङ्गताको विषयमा सरोकारवाला निकायको ध्यान जान आवश्यक रहेको बताएका छन् ।

“अधिकार ऐन कानुनमा लेखेर मात्रै भएन, कार्यान्वयनमा ल्याउनु पर्छ” चैसिरले भने, “तपाई हामी सबैको तर्फबाट सरकार एवं सरोकारवाला निकायलाई दबाब दिन आवश्यक छ ।”

राष्ट्रिय कार्यशालामा बोल्दै उनले श्रवणदृष्टि विहिन अपाङ्गता भएका व्यक्तिहरुका अवरोधहरु पहिचान गरी समस्याहरु समाधान गर्न सरोकारवाला निकायहरुले ध्यान दिन आवश्यक रहेको बताए ।

उनले यस्ता व्यक्तिलाई अपाङ्गता मैत्री शब्दको प्रयोग गर्न र उनीहरुलाई सञ्चारको विकास गराउँनु पर्नेमा जोड दिए । अपाङ्गता भएका व्यक्तिहरुको परिभाषा, उनीहरुको भविष्य र समग्र विषयमा उनीहरुलाई सहज र सरल वातावरणको व्यवस्था मिलाउँनु पर्ने उनको भनाई थियो ।