logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वडा कार्यालय तोडफोड, चार पक्राउ


अंकुरण खबर
1.417K
Shares

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यालय तोडफोड भएको छ ।

वडा कार्यालयको दुई तले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोडफोड भएको हो । सोमबार राती स्थानीय युवाले वडा कार्यालयको ताला तोडेर तोडफोड गरेका हुन् ।

तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकका एक वटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएको दुई वटा हेलमेट, दुई थान पावर सकेट लगायत सामानमा क्षति पुगेको वडाध्यक्ष भलाराज राईले बताए ।

यस्तै, हरेक महिनाको २७ गते वितरण गर्नेगरी राखिएको आयुर्वेदको औषधि छरपस्ट अवस्थामा भेटिएको छ । पानी भरेर राख्ने गरिएको एक थान सिलभरको गाग्रो कच्याककुचुक भएको पाइएको छ ।

वडा कार्यालयको दुई तले भवनको माथिल्लो तलाबाट भने वडाको कामकाज सञ्चालन हुँदैआएको छ । तोडफोडमा संलग्न भएको अभियोगमा चार युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए । घट्नाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।