logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस


अंकुरण खबर
2.054K
Shares

काठमाडौं – ६६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मंगलबार विविध कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ ।

मानवअधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले यस बर्षको दिवसको नारा ‘सवैका लागि घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार’भन्ने तय गरेको छ ।

लम्बिदो संक्रमणकाल र राजनीतिक अस्थिरताको कारण नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको छ । विधिको शासनको अभावले गर्दा लामो समयअघिका पीडितले समेत न्याय पाउन सकेका छैनन् ।

विगत दशवर्षे सशस्त्र युद्धको समयमा ठूलो संख्यामा हत्या, हिंसा तथा अपहरणजस्ता मानव अधिकार हनन्का घटनाहरु भएका थिए । युद्धका घाउमा मल्हम लगाउने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन गर्ने भनिए पनि गठन हुन सकेका छैनन् ।

द्वन्द्वको कालखण्डमा सन् २००३ र २००४ नेपाल विश्वमै सर्वाधिक नागरिक बेपत्ता पारिने मुलुक नै बन्न पुगेको थियो । अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार द्वन्द्वका बेला दुवै पक्षद्वारा नियन्त्रणमा लिएकामध्ये १ हजार ३ सय ५० भन्दा बढी नागरिकको अझै पत्तो लाग्न सकेको छैन ।

मुलुक संक्रमणकालमा गुज्रिनुका साथै नयाँ संविधान जारी हुन नसक्दा मानव अधिकारको अवस्था जोखिमपूर्ण रहेको अधिकारकर्मीहरु बताउँछन् ।