logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मध्यपुर थिमिका बुद्धकृष्ण वागश्रेष्ठले नवौंपटक छेडे जिब्रो


अंकुरण खबर
1.339K
Shares

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय बुद्धकृष्ण वागश्रेष्ठले नवौपटक जिब्रो छेडेका छन्।

कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्चमा बुद्धकृष्णको जिब्रो छेडिएको हो। चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ।

जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक उनले यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेडे भने उनकी आमाको निधनपछि बोडेको जुजुभाइ बाँसश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेडे। पछिल्ला वर्षमा पुनः जिब्रो छेडेका बुद्धकृष्णले यस वर्ष नवौंपटक जिब्रो छेडेका हुन्।

दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ।

किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे।

यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो।