logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समलिंगी महिलाका प्रश्न : ‘हामी पनि मानिस नै हौँ, परिवार र समाजले किन स्वीकार्दैन ?


अंकुरण खबर
1.794K
Shares

काठमाडौं – लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन एवं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मितिनी नेपालले एक कार्यक्रम गरेको छ । मितिनी नेपालले मंगलबार माइती नेपालद्वारा नयाँ बानेश्वर काठमाडौंमा एलबीटी महिला हिंसा सम्बन्धी कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा परिवारबाट सबैभन्दा बढी पीडा खेप्दै आएको भन्दै मकवानपुर हेटौंडाकी समलिंगी महिला मोनिका तामाङ भक्कानिँदै रुन थालेपछि कार्यक्रममा सहभागी सांसददेखि सहभागीसम्मका आँखा रसाए। जन्म दिने आमाबाट समेत तिरस्कृत हुनुपरेको पीडा सुनाउँदै तामाङले समलिंगी महिला भएकैले परिवारले मानसिक यातना दिएको र अपहेलित भएर बाँच्नु परेको बताउनुभयो।

अर्की समलिंगी महिला समीक्षा तामाङले घर–परिवारबाट अपहेलित हुँदा शिक्षाबाट समेत वञ्चित हुनुपरेको बताउँदै सरकारले आफ्नो समस्या नबुझ्दा अवस्था झन् जटिल बन्दै गएको गुनासो गर्नुभयो।

सरकारले यौनिक तथा अल्पसंख्यक समुदायबारे पाठ्यक्रममा नै समावेश गर्नुपर्ने उहाँको माग थियो। स्याङ्जाकी स्वस्तिका परियारको पीडा पनि यस्तै थियो। समलिंगी भएकैले आमाबुबा टाढा भएको बताउँदै उहाँले भन्नुभयो– ‘समलिंगी महिलालाई परिवार र समाजले स्वीकार्दैन, हामी पनि मानिस नै हांै, किन समाजले मानिसको व्यवहार गर्दैन रु’

सांसदहरूसँग आफ्नो गुनासो पोख्दै पोखराकी सुवासना गुरुङले आफूहरू सबैभन्दा बढी परिवारबाटै हिंसामा परेको बताउनुभयो। आफूहरूबीच समलिंगी विवाह हुँदा परिवारले दिएको यातनाबारे मानव अधिकार आयोगलाई गुहार्दा समेत न्याय नपाएको बताउनुभयो।

सहभागीको गुनासो र पीडा सुनिरहँदा मञ्चमा आसीन सांसद मीना बुढाको पनि आँखामा आँशु थामिएन। सांसद कृष्ण राई पनि भावुक बन्दै अब कानुन बनाउँदा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सांसद युटल तामाङले आफ्नै आँखाको आँशु पुछ्दै भन्नुभयो, ‘समाजमा रहेको विभेद र असमानता हटाउन अझै पनि सशक्त अभियान थाल्नुपर्छ।’कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायले आफ्ना मुद्दा सम्बोधन गर्न सांसदहरूसँग माग गरे। उनीहरूले नागरिकता, राहदानी, अंश, वंशलगायतकोे क्षेत्रमा भोग्नुपरेको समस्या हटाइदिन आग्रह गरेका थिए।