काठमाडौं – गोल्डेन वारिवर्सले पोखरा प्रिमियर लिग ‘पीपीएल’क्रिकेटमा पहिलो जित हात पारेको छ ।
आज पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
काठमाडौंले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको धनगढीले १६ ओभरमा अलआउट हुँदै ७९ रनमा समेटियो । धनगढीका लागि सृमान्था विजारत्नेले १५, रोड्रिगो थोमसले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । काठमाडौंका बसन्त रेग्मीले ३ विकेट लिए । यस्तै पवन सर्राफ र सुबोध भाटीले समान २–२ विकेट लिए ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले १ सय रनको शतकीय इनिङ्स खेले । यस्तै जयकिशन कोल्सावालाले ४६ र अमित श्रेष्ठले ३४ रन बनाए । धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । जितसंगै काठमाडौंले अघिल्लो चरणको सम्भावना कायम राखेको छ ।
धनगढीको भने यो पहिलो हार हो । पहिलो खेलमा उसले विराटनगरलाई हराएको थियो ।