मोदी गाउँपालिका–६ थानामा आज बिहान ट्याक्टर पल्टिँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोदी गाउँपालिका-२ का १८ वर्षीय दिपेन्द्र नेपाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाटीचौरबाट गिज्यालतर्फ बिजुलीको पोल लिएर जाँदै गरेको ना ७ त ३६६८ नम्बरको ट्याक्टर ब्रेक फेल भएर सडकबाट करिब ३ सय मिटर तल खस्दा दिपेन्द्रको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ट्याक्टर चालक बाग्लुङको जैमुनी नगरपालिका-२ का ३७ वर्षीय प्रकाश नेपाली र ट्याक्टरमा सवार जैमुनी नगरपालिका–९ का २९ वर्षीय तेजेन्द्र थापा घाइते भएका छन् । घाइते भएका दुवैको उपचारका लागि पोखरा स्थित मणीपाल शिक्षण अस्पताल पठाइएको छ ।
ट्याक्टरमा सवार २ जना भने हाम फालेको र उनीहरु सकुशल रहेको पर्वत प्रहरीले जनाएको छ।