काठमाडौं – प्रतिनिधिसभाको सर्वदलीय बैठक सूचना टाँसेर स्थगित गरिएको छ । संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्ण बहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि आजका लागि बोलाइएको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको हो ।
संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सञ्चालन गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ–आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो । सर्वदलीय छलफल निष्कर्षमा पुग्न नसकेपछि सचिवालयले सूचना टाँसेर ‘अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्ने नसक्ने हुँदा’ बैठक स्थगित गरिएको जनाएको छ ।
बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल ,राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो ।
नेत्र विक्रम चन्द्र विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंंहको प्रहरीको गोली लागेर मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले असार २४ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन् ।