ओखलढुंगाको लिखु गाउँपालिका–९ स्थित पोकली झरना क्षेत्रमा जारी पूर्वाधार निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने स्थानीयको आशा छ ।
झरना हेर्नका लागि दैनिक ५० देखि एक सय पर्यटक आउने गरेको बताइन्छ ।
झरनालाई पृष्ठभूमिमा राखेर फोटो, भिडियो खिच्न मिल्ने गरी बनाइएको सुटिङ स्पट सकिएको छ ।
आसपासमा शिवजी र गौतम बुद्धको मूर्ति, चिल्ड्रेन पार्क बनाउन स्थानीय र पोकली झरना संरक्षण समितिले पहल गरिरहेको छ ।
पर्यटन वर्ष २०२० मा सरकारले छनोट गरेको सय गन्तव्यको सूचीमा परेको उक्त झरना १ सय ३० मिटर अग्लो छ । यसको प्रचारका लागि तीनवटा महोत्सव सम्पन्न भइसकेका छन् । झरनामा पर्यटक भित्र्याउन रामेछापको मन्थलीदेखि सिरिसे ढाडे सडक स्तरोन्नति गर्नुपर्ने देखिन्छ ।
गाउँपालिका अध्यक्ष अशोक कार्कीले उक्त झरना गाउँकै प्रमुख पर्यटकीय गन्तव्य भएको बताए । उनले पोकलीको प्रवर्द्धन एवं पूर्वाधार विकासमा स्थानीयको माग र आवश्यकतालाई ध्यानमा राखेर गाउँपालिकाले आफ्नै हैसियतअनुसारको बजेट व्यवस्था गर्ने बताए ।