अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् ।
चार वर्षे कार्यकालको लागि निर्वाचित नेम्वाङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । जसमा अहिले १९ जनाको मात्रै नाम टुङ्गो लगाएको छ ।
निकै कडा पतिस्पर्धा देखिएको निवर्तमानमा नेम्वाङले कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गरेका थिए । कुल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरे ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा नेम्वाङ समूहकै वीरबहादुर खड्का ४४ मतसहित विजयी भए । शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीले ४० मत प्राप्त गरे ।
उपाध्यक्ष पदमा पनि नेम्वाङ प्यानल हाबी भयो । चार उपाध्यक्षमध्ये तीन जना नेम्वाङ प्यानलका उम्मेदवार विजयी हुँदा शेर्पा प्यानलका एक उम्मेदवार विजयी भए ।
नेम्वाङ प्यानलबाट दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित हुँदा शेर्पा प्यानलका दीर्घबहादुर (कुमार) केसी विजयी भए । शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा तथा नेम्वाङ खेमाका सुन्दरनरसिंह जोशी पराजित भए ।
महिला सदस्यमा भने दुवै प्यानलका एक–एक उम्मेदवार विजयी भए । शेर्पा प्यानलकी पेमा डोल्मा लामा र नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ विजयी भए । नेम्वाङ प्यानलकी विन्द्रा देवान र शेर्पा प्यानलकी विना श्रेष्ठ पराजित भए ।
१३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै चयन गरेको छ । नेम्वाङ प्यानलबाट ६ तथा शेर्पा प्यानलबाट ५ सदस्य विजयी भएका छन् । चार जना सदस्यका उम्मेदवारको समान ३९–३९ मत भएपछि दुई सदस्यको टुङ्गो लागेको छैन । एन्फाको विधानअनुसार आजै पुनः निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाइने जनाइएको छ ।