भारतको असाम राज्यमा मनसुनी वर्षाको कारण धेरै जनधनको क्षति भएको छ ।
लगातारको वर्षासँगै यहाँ आएको बाढीले दर्जनौंको ज्यान गएको छ भने लाखौं मानिस विस्थापित भएका छन् । राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार, असाममा पछिल्लो सात दिनमा मात्रै ४५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मेघालयका मात्रै १८ छन् ।
बिबिसीका अनुसार, बाढीमा हजारौं फसेपछि तिनको उद्धारमा कठिनाइ भएको छ । तिनको उद्धार निम्ति सेना गुहारिएको छ ।
असाममा यो वर्ष आएको यो दोस्रो बाढी हो । यहाँका ३५ जिल्लामध्ये ३२ पछिल्लो बाढीको चपेटामा परिसकेका छन् ।
विपद् व्यवस्थापन प्राधिकरणका अनुसार ३२ जिल्लाका ५४२४ गाउँ डुवानमा परिसकेका छन् । जसका कारण यहाँको १ लाख हेक्टरभन्दा बढी बालीनाली नष्ट भएको छ । बाढीले केही इलाकाको सवारी आवागमन विच्छेद हुन पुगेको छ ।
बाढीका कारण ४७ लाख ७२ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । बिबिसी हिन्दीका अनुसार २ लाख ३१ हजार ८१९ मानिसले १४२५ राहत शिविरमा शरण लिइरहेका छन् ।
असामका अलावा मेघालय, त्रिपुरा र अरुणाञ्चलमा पनि बाढीपहिरो गएको छ । यसबाट ती क्षेत्रमा पनि लाखौं मानिस बेघरबार भएका छन् ।