सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना चारजना मन्त्री फेर्ने निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ।
मन्त्री फेर्ने निर्णय १७ दिनसम्म पनि अलपत्र परेपछि समाजवादीको सचिवालय बैठकले यथाशिघ्र कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्ने भनेको हो ।
बुधबार बसेको बैठकले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग बुझ्ने तथा गठबन्धनमा उठाउने निर्णय गरिएको सम्मानित नेता झलनाथ खनालले बताए।
समाजवादी सचिवालयको जेठ २२ गतेको बैठकले सरकारमा सहभागी पाँचमध्ये चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
तर, उक्त निर्णयलाई कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले चासो नदिएपछि समाजवादीले थप दबाब बढाएको हो।
समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
तर समाजवादीको निर्णयमा पर्यटनमन्त्री आलेसहित बाधक बनेका छन्। आलेले सार्वजनिक रुपमा पार्टीको निर्णय मान्ने बताए पनि पद जोगाउन उनैले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लविङ गरेको खुलेको छ।