अफगानिस्तानमा भूकम्पमा परी कम्तीमा नौ सय २० जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार बिहानै आएको भूकम्पमा परी नौ सय २० भन्दा बढीको ज्यान गएको हो भने हजारौ घाइते भएका छन् ।
स्थानीय प्रकोप व्यवस्थापन अधिकारीहरुका अनुसार ६.१ रेक्टर स्केलको भूकम्पमा गएको थियो। पहाडी इलाकामा भूकम्प गएका कारण हताहतीको संख्या अझै बढ्ने अनुमान गरिएको डनले जनाएको छ।
अफगानी मिडियाहरुले भूकम्पपछिको दृश्यहरु सार्वजनिक गरिरहेका छन् जहाँ मानिसका घरहरु भग्नावशेषमा बदलिएको र जमिनमा शवहरु असरल्ल देखिएका छन्।
घाइतेको उद्धारका लागि, मेडिकल सामग्री आपूर्तिका लागि हेलिकप्टरहरु परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। सनाखत भएको मृत्यु धेरैजसो पूर्वी प्रान्त पक्तिकाका रहेको बताइएको छ। त्यहाँ मात्रै २५५ मानिसको मृत्यु र २ सय बढी घाइते भएका थिए। त्यस्तै खोस्ट प्रान्तमा २५ जनाको मृत्यु र ९० जनालाई अस्पताल लगिएको बताइएको छ।
बुधबारको भूकम्प सन् २००२ यताकै विनाशकारी रहेको बताइएको छ। अमेरिकी भौगर्भिक सर्वेका अनुसार १ः५४ बजे (पीएसटी) खोस्ट सहरबाट ४४ किमि दूरीमा पाकिस्तानसँगको सीमानजिकै भूकम्प गएको थियो।