logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मार्मा गाउँपालिकाको उद्घोष, उत्कृष्ट विद्यार्थी एकलाई एमबीबीएस अध्ययन गर्न १० लाख दिने


अंकुरण खबर
2.002K
Shares

दार्चुलाको मार्मा गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएसमा छात्रवृत्ति उपलब्ध गराइने भएको छ।

गाउँपालिकाले स्तरोन्नति भएर १० शैय्याको अस्पतालको रुपमा स्तरवृद्धि भएको लटिनाथ स्वास्थ्य चौकीमा अढाई वर्षभित्र भवन निर्माण गर्ने भएको छ। गाउँपालिका भित्रका स्वास्थ्य चौकी भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुने नीति तथा कार्यक्रममा उल्लेख छ।

अस्पतालको प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टललगायत सुविधा सुदृढीकरण गर्दै लग्ने उल्लेख छ। हरेक गाउँमा विशेषज्ञसहितको घुम्ती सेवा सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ। रासस