संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले आफूले पदबाट राजीनामा दिएको बताएका छन्।
एकीकृत समाजवादीका नेतासमेत रहेका उनले संसद् बैठकमा सञ्चारकर्मीहरूसँग पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएको जानकारी दिए।
उनको राजीनामा पत्र बोकेर अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गर्ने तयारी गरेका छन् ।
आलेले शुक्रबार पार्टी बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए । सोही अनुसार उनले अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको बताएका हुन् ।
अहिले मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरू सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद् हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।
हस्ताक्षर गर्नेहरूमध्ये पर्यटन मन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।