ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी २ वर्षभित्र सबै नेपालीका लागि विद्युत् सेवा पुग्ने बताएकी छन्।
सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री भुसालले आगामी २ वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताएकी हुन्।
आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत् खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत् सेवा पाएको मन्त्री भुसालको दाबी छ। सिँचाइमा प्रयोग हुने विद्युत्मा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट २ रुपैयाँसम्म महशुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करिब ५० प्रतिशतले घटाइएको भुसालले जानकारी दिइन्।
अधिकांश वस्तु तथा सेवाको मूल्यवृद्धि विद्युत्को भने दुईपटक गरी २० प्रतिशत मूल्य घटेको मन्त्री भुसालले उल्लेख गरिन्। उनले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिव ७०० देखि १००० मेघावाट विद्युत् नेपालको विद्युत् प्रणालीमा थपिँदै जाने बताइन्। यसरी विद्युत् थपिँदा आगामी २ वर्षका सुख्खा याममा समेत नेपालको विद्युत्ले नै आन्तरिक माग धान्ने उनले बताइन्।