अछामको पञ्चदेवल विनायक नगरपालिकी मेयर अम्बिका चलाउने हत्या आरोपमा पक्राउ परेकी छिन् ।
यसै नगरपालिकाका १७ वर्षीय विनोद शाहीको हत्या आरोपमा मेयर चलाउने पक्राउ परेकी हुन् । शाहीको हत्या आरोपमा प्रहरीले अहिलेसम्म उनीसहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए ।
उनका अनुसार शनिबार आरोपी मेयर चलाउने र नेत्र शाही प्रहरीमा आफै हाजिर भएकी हुन्। जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल विनायक नगरपालिका–४ का शाही २१ गते बिहान कालिकास्थानस्थित कुच्चीको भीरमा मृत भेटिएका थिए।
हत्या आरोपमा पीडित परिवारले पञ्चदेवल विनायक नगरपालिकाका नवनिर्वाचित मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो।
घटना अनुसन्धानमा प्रहरीले सुरुमा २, त्यसपछि ३ र शनिबार २ गरी ७ जनालाई नियन्त्रणमा लिएको हो।
किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन्। चलाउने नेपाली कांग्रेस पार्टीबाट मेयरमा निर्वाचित भएकी थिइन् ।