logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

के.स.बैठकमा प्रचण्डद्धारा प्रतिवेदन पेश : बैठक लम्बाएर भएपनि पदाधिकारी टुंगो लगाउन सदस्यहरुको माग


अंकुरण खबर
1.157K
Shares

आजबाट सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनैतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

उक्त प्रतिवेदनमा पहिलो स्थानीय तह निर्वाचन र अहिले सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामको तुलनात्मक विश्लेषण गरिएको छ । जसमा सत्तारूढ गठबन्धनका सबै दललाई पहिलेको तुलानामा राम्रो भएको बताइएको छ । साथै वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ प्रस्तुत गरिएको छ ।

तीन दिन चल्ने भनिएको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिका नयाँ सदस्यको शपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेश समितिका अध्यक्ष र इन्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, सङ्गठनात्मक विषय र संरचनाबारे, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारी र विविध गरी नौ वटा एजेण्डा प्रस्तुत गरेका हुन् ।

सोही क्रममा प्रदेश समितिका अध्यक्ष र इन्चार्जले आ-आफ्नो प्रदेशको स्थितिबारे रिपोर्ट पेस गर्दा जारी बैठकले नै पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका छन् ।

बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पाँच दिनसम्म बैठक राखेर भए पनि पदाधिकारी टुंगो लगाउनुपर्ने बताए ।  मधेस प्रदेशका इन्चार्ज गणेश शाहले मधेस प्रदेशको पदाधिकारी छिटो टुंगो लगाउनुपर्नेमा जोड दिए ।

स्थानीय तह निर्वाचनमा धाँधली भएकाले छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र अन्तर्घात गर्नेहरूलाई कारबाही गर्नुपर्ने माग बैठकमा उठेको छ ।