मन्त्रिपरिषद् बैठकले संसद्मा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार नागरिकता विधेयकमा रहेका विवादित विषय झिकेर फेरि प्रतिनिधिसभामा पेश गर्ने तयारी छ ।
यो विधेयकमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेश भएको थियो । संसद्मा पेश भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।