logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस विवाद : समानान्तर गतिविधिको तयारीमा असन्तुष्ट समूह


अंकुरण खबर
949
Shares

नेपाली कांग्रेसभित्रको संस्थापन समूहले बहुमतका बलमा केन्द्रीय समितिको कार्यकाल थप्दै १४ औं महाधिवेशनको कार्यतालिका ल्याएपछि असन्तुष्ट समूह जिल्ला सभापति भेलाको तयारीमा जुटेको छ ।

संस्थापन पक्षले केन्द्रीय समितिमार्फत बहुमत जुटाएर नौ बुँदे निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको असन्तुष्ट समूह जिल्ला सभापति भेलादेखि आवश्यक परे महाधिवेशन प्रतिनिधि भेलासम्मको तयारीमा जुटेको हो । सो समूहले केन्द्रीय समितिसँग समानान्तर गतिविधि गर्ने गरी यो तयारी गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापतिले असन्तुष्ट समूहलाई झनै चिढ्याउने तथा बहुमतको बलमा गुटलाई बलियो बनाउने गरी निर्णय गरेकाले जिल्ला सभापति भेलादेखि भ्रातृसंगठन भेला र आवश्यक परे महाधिवेशन प्रतिनिधिहरूको भेला डाक्ने तयारी भएको बताए ।

‘सभापति नै असन्तुष्टलाई झनै चिढ्याउने तथा गुट मात्र बलियो बनाएर पार्टी र विधानलाई कमजोर बनाउने गरी अघि बढेपछि जिल्ला सभापति भेलाको तयारी भएको हो । आवश्यक परे महाधिवेशन प्रतिनिधिहरूको भेलासम्म हुन्छ,’ नेता पौडेलले भने ।

उनले केन्द्रीय समितिमार्फत बहुमतको बलमा भएको निर्णयले पार्टीलाई ध्रुवीकरणतर्फ लगेको र असन्तुष्टको समूहलाई एकै ठाउँ उभ्याएको बताए । अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारसँगको चुनौतीसँग लड्न र कांग्रेसलाई वैधानिक बाटोबाट हिँडाउनसमेत गहन छलफलको तयारी भइरहेको बताए ।

‘सरकारसँगको चुनौतीसँग लड्न र कांग्रेसलाई वैधानिक बाटोबाट हिँडाउन गहन छलफलको तयारी भइरहेको छ, छिट्टै निर्णय आउँछ,’ नेता जोशीले भने ।

असन्तुष्ट नेताहरूको संयुक्त छलफलका क्रममा जिल्ला सभापतिको भेला तत्काल बोलाउने र त्यसपछि संघीय र प्रदेश सांसद, पूर्वसांसद भ्रातृ संस्थाका पदाधिकारी र सदस्य र महाधिवेशन प्रतिनिधिको भेला बोलाउने सहमति भइसकेको एक नेताले जानकारी दिए ।

जिल्ला सभापति, सांसद र भ्रातृ संस्थाको भेला काठमाडौंमा गरिए पनि प्रदेश सांसद र क्षेत्रीय सभापति तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापतिको भेला भने सातवटै प्रदेशमा गर्ने सहमति भएको ती नेताले जानकारी दिए ।

केन्द्रीय समितिको ११ पुसको बैठकमार्फत सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको म्याद एक वर्ष थप्ने र मंसिरबाट पार्टीका तल्लो तहको अधिवेशन सुरु गरेर २०७७ फागुनमा १४ औं महाधिवेशन गर्ने तालिका ल्याएका थिए । सभापति देउवाले पार्टीको महाधिवेशन जस्तो विषयमा एकलौटी रूपमा निर्णय गरेको भन्दै वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाले निर्णय फिर्ता गर्न माग गर्दै आएका छन् । उनीहरूले बहुमतका आधारमा विधानका विभिन्न धारालाई निलम्बन गरी क्रियाशील सदस्यता वितरण र नवीकरणमा एकाधिकार लाद्ने उद्देश्यले निर्णय गरेको भन्दै सो विषयमा समेत आपत्ति जनाएका छन् ।
राजधानीबाट