logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सकियो कांग्रेसको एक सातादेखि जारी केन्द्रीय समिति बैठक, निर्वाचनसम्म गठबन्धनबीच तालमेल गर्ने निर्णय


अंकुरण खबर
624
Shares

सत्तारुढ नेपाली कांग्रेसको एक सातादेखि जारी केन्द्रीय समिति बैठक सकिएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो। त्यस्तै बैठकले आगामी संघीय चुनावमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सरकारले संविधानलाई ट्रयाकमा ल्याएको कांग्रेस निष्कर्ष छ ।

त्यस्तै बैठकले कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्त्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ । साथै बैठकले भ्रातृ संस्थालाई साउनभित्र पूर्णता दिने निर्णय गरेको छ ।

तर, पूर्ववर्ती सरकारले संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत विविध विषयमा ल्याएका प्रस्ताव र निणर्यहरूकाविरुद्ध उभिएको स्मरण गर्दै यस्ता महत्त्वपूर्ण कानुन बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरूप हुने गरी सरकारले निर्णय लिनुपर्ने कांग्रेसको सुझाव छ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले तीन वटा समिति गठन गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन गरिएको छ ।

केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन गरेको छ । त्यस्तै केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा केन्द्रीय लेखा समिति गठन गरेको हो ।

बैठकले ती समितिको नेतृत्व चयन गरेको हो । सदस्यहरू पछि थप गरिनेछ ।