logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पत्रपत्रिकामा छापिएका मूख्य खबरहरु


अंकुरण खबर
3.926K
Shares

विदेशमा मृत्यु भएका कामदारका परिवारलाई साढे ४८ करोड

वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५ ,७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ ।

गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए ।

बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ ।

रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ३ सय ३५ कामदारलाई एक वर्षमा ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ सहायता प्रदान गरिएको बोर्डले जनाएको छ । यो समाचार आजको कान्तिपुरमा छ ।

प्रधानमन्त्रीका आधा दर्जन विज्ञ, तर पनि किन हुन्छ बारम्बार कूटनीतिक सन्देशमा त्रुटि ?

प्रधानन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहिबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन् ।

प्रधानमन्त्रीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोन्सनको थिएन ।

यतिमात्र होइन, ट्विटरमा प्रयोग भएको भाषा पनि अशुद्धता देखिएको छ । ट्विटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजुम्सनको हिज्जे गलत लेखिएको थियो ।

पहिलो ट्विटमा गल्ती देखिएपछि तत्काल त्यसलाई मेटेर दोस्रो ट्विटमार्फत बेलायती प्रधानमन्त्रीलाई बधाई व्यक्त गरिएको छ । तर दोस्रो ट्विटमा पनि हिज्जे गलत लेखेपछि तेस्रो ट्विटमार्फत सच्चाइएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल तथा मिडिया हेर्न आधा दर्जन व्यक्तिलाई विज्ञका रुपमा नियुक्त दिएर राखेका छन् ।

यिनै विज्ञका कारण यस्ता गल्ति दोहोरिने गरेका छन् । यसै कारण विदेशी सरकार प्रमुखलाई दिएको बधाईसमेत खल्लो बन्न पुगेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल यसलाई मानवीय त्रुटी भन्छन् । यो समाचार वसन्त खड्काले नागरिक दैनिकमा लेखेका छन् ।

अफ्रिकी मुलुक मालाबीमा तीन नेपाली युवती अलपत्र

मानव तस्करीको सञ्जाल हुँदै दक्षिणपूर्वी अफ्रिकी मुलुक मलाबी पुगेका तीन नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन सकेको छैन ।

मलाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार नराख्दा उद्धार प्रक्रिया अल्झिएको हो ।

मालाबीस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष दीपक पोखरेलका अनुसार गत वर्ष माघको सुरुमै मुम्बई र दुबईको नाका हुँदै पुगेका युवती अलपत्र परेको जानकारी संघले ५ महिनाअघि पाएको हो ।
यो समाचार कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।

वायुसेवा निगम संकटमा

वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीले नै सरकारसँग रकम माग गरेका छन् ।

निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ  ऋण लगानी गरेका छन् । ती निकायले नौ महिनादेखि ऋणको किस्ता तिरेका छैनन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एक वर्ष अगाडि भित्र्याएको एयरबसको ए ३३०–२०० नामको वाइडबडी जहाज पूर्णक्षमतामा उडान गर्न नसक्दा तीनवटा किस्ता तिर्न सकेको छैन ।

निगमले उडान व्यवस्थापन मिलाउन नसक्दा र व्यवसायिक योजनाअनुसार उडान नहुँदा गत आवमा मात्रै करिब दुई अर्ब घाटा भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।

तिलिचोभन्दा पनि अग्लो ठाउँमा भेटियो अर्को ताल

पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो ।

उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो ।
घलेले गाउँका बुढापाकासँग सोधे ।

गोठालाहरुले ताल छ भनेपनि उक्त ठाउँमा जाने जुक्ति निकाले । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडी गोठाला भैर गुरुङलाई लिएर २९ जनाको टोली त्यो ठाउँतिर लाग्यो ।

उनीहरु दुई दिनमा तालछेउ पुगे । त्रिकोण आकारमा रहेको ताल मनमोहक देखेपछि मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चोमेका इन्स्पेकटर बाबुराम लम्सालले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) बाट उचाइ नापे ।

५ हजार २ मिटर उचाइमा ताल देखेपछि प्रष्ट भयो, संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) भन्दा अग्लो स्थानमा रहेको छ । यो समाचार कान्तिपुर दैनिकमा आश गुरुङले लेखेका छन् ।