logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आजको छापामा प्रकाशित मूख्य खबरहरु…


अंकुरण खबर
3.913K
Shares

वीर अस्पतालको बेहालः मेसिन बिगार्दै, बिरामी निजीमा पठाउँदै

एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’

अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए।

अस्पतालमा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यही मेसिन सरकारीमा तुरुन्तै बिग्रने। निजीमा वर्षौंसम्म चल्ने। उपचारका लागि आएका बिरामीलाई निजीमा पठाउने धन्दा बन्द हुनुपर्छ। प्राविधिकले उपकरण चलाउन नसक्ने र कर्मचारीले बिगार्ने हो भने पब्लिक प्राइभेट पार्टनरसिपमा जान सक्छौं।’ जनताको करले सञ्चालित अस्पतालको सम्मान गर्न स्वास्थ्यमन्त्री यादवले आग्रह गरे।

मुलुकको ऐतिहासिक अस्पतालले १३० औं वार्षिकोत्सवको मनाइरहेका बेला सेवाग्राहीको असन्तुष्टि मन्त्री यादवको भन्दा बढी छ। अस्पतालले २४ घण्टे फार्मेसी सेवा उपलब्ध गराउन सकेको छैन।

अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेञ्चुरी भन्छन्, ‘ ज्यामितीय रूपमा सेवाग्राही बढेका छन्। सेवासुविधा तथा उपकरण थप्ने प्रयास गरेको छु।’

१९४७ साउन १२ गते १५ शड्ढयाबाट अस्पतालले सेवा सुरु गरेको थियो। २०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा स्तरोन्नति भएको थियो। उपचार र दक्ष जनशक्ति उत्पादनमा योगदान गरिरहेको जेठो अस्पताल न्यून पूर्वाधार, दक्ष जनशक्ति पलायन र उपकरण अभावले थलिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

कोसी उच्च बाँधमा कुरा मिलेन, नेपाल–भारत बैठक निष्कर्षविहिन

नेपाल र भारतका अधिकारीहरुबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आआफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ ।

नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोससम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी उच्च बाँध र सुनकोसी–कमला डाइभर्सन परियोजनाबारे छलफल भएको थियो ।

बैठकमा सहभागी एक नेपाली सरकारी अधिकारीका अनुसार नेपाली पक्षले अहिलेको अवस्थामा सप्तकोसी उच्च बाँध परियोजना अघि बढाउन नसकिने भन्दै विराटनगरस्थित संयुक्त कार्यालयलाई निरन्तरता दिने कि नदिने भन्ने प्रश्न उठाएको थियो ।

भारतीय  पक्षले भने कार्यालयलाई निरन्तरता दिँदै परियोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।

भक्तपुर–नगरकोट सडक विस्तारः दुईवर्षे ठेक्का ६ वर्षमा पनि सकिएन

दुई वर्षभित्र सकिनुपर्ने भक्तपुरदेखि नगरकोट पुग्ने सडक विस्तार योजना ६ वर्ष भइसक्दा पनि नसकिएपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन्। संघीय संसद्को विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का नेतृत्वको टोलीले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडकको आइतबार गरेको स्थलगत अवलोकनपछि आयोजित अन्तत्र्रिmयामा स्थानीयले ठेकेदारमाथि कारबाहीको माग गरे।

स्थानीयबाट गठित सडक निर्माण दबाब समूहका अध्यक्ष राजकुमार लामिछानेले दुई वर्षको ठेक्का ६ वर्षमा पनि नसकेको भन्दै ठेकेदारमाथि कारबाहीको माग गरेका हुन्। यो सडक विस्तारको यसअघि पनि पटकपटक अनुगमन भएको बताउँदै उनले थपे, ‘अनुगमनको प्रतिवेदन बने पनि त्यत्तिकै थन्किने गरेका छन्।’

भक्तपुरको कमलविनायक भत्केको पाटीबाट नगरकोट पुग्ने १६ किलोमिटर लामो सडक विस्तार ६० प्रतिशत सकिएको दाबी गरे पनि अहिलेसम्म तीन किलोमिटरमात्रै कालोपत्रे गरिएको छ। कालोपत्रे गरिएको सडक पनि निर्माणाधीन सडकजस्तै खाल्डाखुल्डी भएर हिलाम्य छ। एक्जिम बैंक इन्डियाको सहयोगमा विस्तार भएको सडक निर्माण आर्थिक वर्ष २०७२/७३ भित्र सम्पन्न गर्ने योजना थियो। यो समाचार आजको नागरिक दैनिकमा  कृष्ण किसीले लेखेका छन् ।

गुठी विधयेक संशोधनमा सघाउँदै कामनपा

गुठी विधयेक संशोधनमा सघाउन काठमाडौं महानगरपालिकाले सरोकारवालासंग छलफल थालेको छ । सरकारले गुठी विधयेक पुनः परिमार्जन गरी पेश गर्ने आन्तरिक तयारी गरिरहेको समयमा महानगरपालिकाले गुठीयारसंग नियमित छलफल थालेको हो ।

सरकारले गुठी विधेयकलाई परिमार्जन गरी ६ महिनापछि हुने हिउँदे अधिवेशनमा पेश गर्दैछ । त्यसमा आन्दोलनरत गुठीयारको भावनालाई सम्बोधन गराउन सुझाव संकलन गर्न थालेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

महानगरपालिकाको सम्पदा र पर्यटन समितिले ज्यापू महागुथि नगरसमितिको व्यवस्थानपनमा बृहत गुठीयारको बृहत भेला गरिसकेको छ । यस भेलालाई निरन्तरता दिँदै छलफलबाट निस्किएको निचोड सरकारसमक्ष बुझाउने महानगरपालिकाको तयारी छ । यसका लागि विभिन्न गुठीयारसंग नियमित छलफल गरिने महानगरपालिका सम्पदा समितिका संयोजक न्हुच्छेकाजी महर्जनले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

भन्सारै रित्याउने गरी ७ करोड राजस्व हिनामिना

विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सो धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतले नासु गुप्ताको तीन वटा मुद्दामध्ये सरकारी कागजात लुकाई भ्रष्टाचार गरेको अभियोगमा १ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।

नासु गुप्ताले आफ्नो अनियमिततासम्बन्धी कर्तुत लुकाउन गोप्य सरकारी कागज नष्ट गर्ने प्रयास गरेका थिए । कलैयाबाट सरुवा भएपछि राजस्व रसिद, लिखित दर्ता किताबसहित महत्वपूर्ण कागजात चालक नीरजकुमार गुप्ताको डेरामा लुकाएका थिए । गुप्ताको डेरामा छापा मारेर अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा  निराजन पौडेलले लेखेका छन् ।