कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गाउँ फर्क’ अभियान संचालन गर्ने भएको छ । सोमबार काठमाडौँमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशभर पार्टीको संगठन निर्माणका लागि तीन महिने ‘गाउँ फर्क’ अभियान संचालन गर्ने निर्णय गरेको हो ।
पार्टीको आसन्न महाधिवेशनलाई समेत ध्यानमा राखेर देशभर पार्टीको संगठन निर्माणका लागि तीन महिने गाउँ फर्क अभियान संचालन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए । बैठकले संगठन निर्माणका लागि यही साउन २४ र २५ गते काठमाडौँमा केन्द्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ ।
आगामी पुस महिना भित्रसम्म संगठन निर्माण गरेपछि पार्टीको महाधिवेशनको तयारीको काममा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता पाठकले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी २०७७ साल जेष्ठमा पार्टीको महाधिवेशन गर्ने तयारी छ ।
बैठकमा अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टीको संगठन निर्माणमा जुटन पार्टीका नेताहरुलाई निर्देशन दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ साललाई पार्टीको संगठन निर्माणको वर्षका रुपमा मनाउने कार्य योजना यस अघि बसेको पार्टी केन्द्रीय कार्य समितिले तय गरेको थियो ।