ग्लोबल टी २० क्यानडामा आज टोरन्टो नेशनल र विनिपेग हक्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राती १०:१५ बजेपछि सुरु हुने छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने नेशनल र तीब्र गतिका बलर सोमपाल कामी हक्समा रहेका छन् ।
आईसीसी टि २० एसिया विश्वकप छनोटमा नेपालले खराब प्रर्दशन गर्दै ग्लोबल छनोटमा पुग्न असफल रहँदा नेपाली टोली आज स्वदेश फर्किदै छ । तर सन्दीप र सोमपाल दुबै हिजो राती नै सिंगापुरबाट त्यसतर्फ लागेका छन् । यी दुवै खेलाडी आजको खेलका लागि उपलब्ध छन् । तर लगातार क्रिकेट खेलेर लामो यात्रा तय गरेका यी दुईलाई आज आराम दिने सम्भावना छ ।
दुवै टोलीले सुरुवाती दुई खेलमा समान १ मा जित र हार बेहोरेका छन् । ड्राफ्टमा सन्दीप ६० हजार र सोमपाल ३ हजार अमेरिकी डरलमा अनुबन्ध भएका थिए । सोमपाल आजको खेलमा मैदान उत्रिए पहिलो अन्तर्राष्ट्रिय फेन्चाइज लिग खेल्नेछन् । सन्दीपले भने गत वर्ष नै ग्लोबल टि २० क्यानडा प्रिमियर लिग खेलि सकेका छन् ।
सन्दीपको टिममा भारतीय टोलीका पूर्व खेलाडी युवराज सिंह कप्तान रहेका छन् । त्यस्तै काइरन पोलार्ड, ब्रेन्डन म्याकुलम, हेनरिक क्वालासेन र मिचेल म्यक्लिनघन जस्ता ठूला नाम गरेका खेलाडी छन् । सोमपाल सम्मिलित हक्समा क्रिस लिन, उमर अकमल, जेपी ड्युमिनी, ड्वेन ब्राभो, नजिबुल्लाह जदरान जस्ता स्टार खेलाडी छन् ।
सोमपाल सम्मिलित हक्सले पहिलो जित निकाल्ने क्रममा भेन्कुवर नाइट्सले प्रस्तुत गरेका २ सय ९ रनको लक्ष्य ३ विकेट गुमाउँदै २८ बल अगाडीनै पुरा गरेको थियो । पहिलो खेलमा पराजित टोरन्टोले एडमन्टन रोयल्सलाई २ विकेटले हराएको थियो । एजेन्सी-